शहीदको बलिदानको प्रतिफलमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउछौँ: प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् ।

शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए । प्रधानमन्त्री ओलीले शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ ।

लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत उनले बताए ।

सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढेको भन्दै उनले भने, ‘हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।’

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा, विपद्मा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको समेत बताए । उनले सरकारले थालनी गरेका विकासका दूरगामी योजनाले जनताको जीवनमा परिवर्तन ल्याउने उल्लेख गरेका छन् ।

जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उनको भनाइ रहेको छ ।

जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गरेका थिए ।

बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरिएको छ । सोही सङ्घर्षको भाव भूमिबाट जनसङ्घर्षको ज्वार उठेर विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो ।