पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही हुँदैनः अध्यक्ष नेपाल


सुर्खेत । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबार पत्रकार भेटघाटमा अध्यक्ष नेपालले मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको बताए ।

उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गरे । “देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ”, अध्यक्ष नेपालले भने, “यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ ।”

पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको भन्दै उनले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध गरे । अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पारे ।