भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माणको खाँचोः गृहमन्त्री


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आन्तरिक समन्वयले सम्भावित क्षति घटाउन सहयोग गर्ने बताएका छन् । २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभालाई सम्बोधन गर्दै ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताएका हुन् ।

उनले भने,‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नु पर्ने अवस्था छ ।’ उनले भुकम्पीय क्षति कम गराउन सुरक्षित भवन निर्माण र कोभिड १९ को संक्रमणबाट बच्न संयुक्त प्रयासको खाँचो रहेको बताए ।

काठमाडौं महानगपालिकाका मेयर विद्यासुन्दर शाक्यले, सम्भावित विपत्तिबाट बच्नका लागि पूर्व तयारी, प्रचलित कानुनको पालना र आपसी समन्वय संयन्त्र बलियो बनाउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘आगलागी एक्लै ठूलो घटना हो । यो घटना भूकम्पजस्ता विपत्तिबाट पनि सिर्जना हुन्छ । काठमाडौंको दमकल सेवालाई विस्तार गर्ने क्रममा हामीले बौद्धमा आधुनिक भवनसहितको सेवा सुरु गरिसकेका छौं । महाराजगञ्जमा भवन निर्माणको चरणमा छ । नयाँ सडकको भवन पुरानो छ । हामीले यसलाई पुनर्निर्माण गर्न चाहेका छौं । तर, पुरातत्व विभागले सहमति दिएन । रातविरात उठेर सेवामा जानु पर्ने अग्नि नियन्त्रक आफैं जोखिममा बसेका छन् ।’

उनले भूकम्पीय क्षति न्युनीकरणका लागि महानगरले भवन निर्माण मापदण्ड जारी गरिसकेको र कोभिड १९ को महामारीबाट बच्न संघ र प्रदेश सरकारभन्दा अगावै कोष स्थापना गरेर प्रयास थालिएको बताए । १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा शुक्रबार बिहान भूगोल पार्कमा स्मृति सभा आयोजना गरिएको हो ।

महानगरले हरेक बर्ष माघ २ गते स्मृति सभा आयोजना गर्ने गरेको छ । विगतका भूकम्पहरुको क्षति सम्झना गर्दै आगामी दिनका सम्भावित जोखिमबाट बच्न सचेतना सन्देश दिने उद्देश्यले सभा आयोजना गर्ने गरिएको हो ।