राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमाडौं । आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

यसै अवसरमा सिंहदरबार पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गरिने कार्यक्रम छ ।

वि सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए। यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२,०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने वर्षेनी हुने गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको प्रशंसा हुँदै आएको छ ।