नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु



काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुवात गरेको हो ।

एनटी टिभी सेवाको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले शुरुवात गरे । टेलिकमले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको फाइबरमार्फत एनटी टिभी सञ्चालनमा ल्याएको हो । टेलिकमले आजदेखि ‘फाइबर टु दि होम’ एफटिटिएचमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न थालेको हो ।

टेलिकमले ३९ जिल्लामा फाइबर सेवा विस्तार गरिसकेको छ । आजदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र बनेपामा एनटी टिभी सेवा सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकाका हात्तीगौँडा, छाउनी, कीर्तिपूर, बलम्बु, गोठाटार, चाबहिल, जोरपाटी, नक्साल, थैव, सैबु, ग्वार्कोलगायतस्थानमा फाइबर सेवा पुगिसकेको छ । अब छिट्टै उपत्यका बाहिर पनि एनटी टिभी सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ । कम्पनीले गत फागुनमा पहिलो चरणको परीक्षण प्रसारण गरेको थियो ।

टेलिकमले पाँच वर्षदेखि एनटीफाइबरमार्फत ग्राहकलाई उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएको छ । टेलिकमले गत डिसेम्बर महिनामा अन्य कम्पनीभन्दा बढी ग्राहकलाई उच्चगतिको इन्टरनेट जडान गर्न सफल भएको छ । “फाइबरको नयाँ ग्राहक बनाउने कम्पनीका रुपमा टेलिकम एक नम्बरमा परेको छ”, कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, “टेलिकम फाइबरमार्फत एकैसाथ टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने पहिलो कम्पनी बनेको छ ।”

हालसम्म अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेट र टिभी सेवा मात्र दिँदै आएका छन् । प्रबन्ध निर्देशक अधिकारी हरेक घरमा एकवटा तार जडान गरेपछि अर्को सेवा लिनका लागि फेरि अर्को तार जोड्नुपर्ने बाध्यता टेलिकमले अन्त्य गरेको बताउँछन् । टेलिकमले सञ्चालनमा ल्याएको उक्त सेवाले शहरी सौन्दर्यलाई पनि सघाउ पुर्याउनेछ ।

टेलिकमले ‘एक घर, एक फाइबर कनेक्सन’ को उद्देश्य राखेर काम गरिरहेको पनि उनले बताए । ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्न पनि यसले सघाउ पुर्याउने प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ । उनले यो सेवालाई देशभर विस्तार गरिने पनि बताए ।

“डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न यो कोशेढुङ्गा सावित भएको छ”, उनले भने । ग्राहकको मागलाई ध्यान दिँदै टेलिकम एडिएसएलबाट फाइबर सेवामा गएको उल्लेख गर्दै उनले दूरसञ्चार क्षेत्रमा आएका नवीनतम प्रविधिलाई भित्राउन आफूहरु तयार रहेको बताए । ग्राहक सेवा निर्देशनालयका निर्देशक अनन्तराम सिंह प्रधानले टेलिकमले पाँच वर्षदेखि फाइबरमार्फत उच्च गुणस्तरको टेलिफोन र उच्चगतिको इन्टरनेट ग्राहकसमक्ष पुर्याउँदै आएको भए पनि आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन पनि शुरु गरिएको बताए ।

कम्पनीले दुई प्याकेजमा टिभी सेवा उपलब्ध गराएको छ । जसमा सिङ्गल टिभी कनेक्सनसहित १५ एमबीपीएस फाइबर इन्टरनेट (बेसिक टिभी प्याकेज) को मूल्य एक हजार २३० देखि १३ हजार २२० रुपैयाँसम्म तोकेको छ । एक महिनाका लागि एक हजार २२०, तीन महिनाको तीन हजार ५३० र एक वर्षको १३ हजार २२० रुपैयाँ रहेको छ ।

यसैगरी इन्टरनेटबाहेक एनटी टिभी र निःशुल्क ल्यान्डलाइनको मूल्य एक महिनाको ४८०, तीन महिनाको एक हजार ४५० र एक वर्षको पाँच हजार ७८० रुपैयाँ तोकेको छ । प्रिमियम एनटी टिभीसहित फाइबर इन्टरनेटको मूल्य एक हजार चार सयदेखि २४ हजारसम्म तोकिएको छ । पन्ध्र एमबीपीएस अनलिमिटेड इन्टरनेटर, एनटी टिभी र टेलिफोन (निःशुल्क) एक महिनाको एक हजार चार सय, तीन महिनाको चार हजार एक सय र एक वर्षको १५ हजार रुपैयाँ रहेको छ ।

तीस एमबीपीएस अनलिमिटेड इन्टरनेट, एनटी टिभी र टेलिफोन (निःशुल्क) प्याकेजको एक महिनाको एक हजार ७५०, तीन महिनाको पाँच हजार र एक वर्षको अठार हजार एक सय, ४० एमबीपीएस प्याकेजको एक महिनाको दुई हजार ५०, तीन महिनाको छ हजार र एक वर्षको १९ हजार ७०० रुपैयाँ तोकिएको छ ।

उनका अनुसार ६० एमबीपीएस इन्टरनेटसहित एक प्याकेजको प्याकेज दुई हजार ४५०, तीन महिनाको सात हजार २०० र एक वर्षको २४ हजार पाँच सय रुपैयाँ रहेको छ । टेलिकमले एनटी टिभी र टेलिफोन (निःशुल्क) को प्याकेजसमेत उपलब्ध गराएको छ । उक्त प्याकेजको एक महिनाको आठ सय, तीन महिनाको दुई हजार ३५० र एक वर्षको आठ हजार ३०० रुपैयाँ तोकेको छ ।
एनटी टिभी सेवाको शुभारम्भ गर्दै मन्त्री गुरुङले सेवालाई भरपर्दो र विश्वासिलो बनाउँदै सेवा प्रवाहलाई ग्राहकमैत्री बनाउन निर्देशन दिए । उनले दूरसञ्चार क्षेत्रमा आविष्कार भएका प्रविधिको अध्ययन गरी नेपालमा पनि शुरुवात गर्न आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले दिएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाडौं । चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं

नागरिकको जीवन रक्षा गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले

नेताहरुबाट कुरै नबुझी खोपमा भ्रष्टाचार भयो भनेर नकारात्मक प्रचार गरियोः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कमिशनका कारण खोप खरिद प्रक्रिया अवरुद्ध भएको

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै