संसद विघटनले सिंगो प्रतिनिधिसभालाई मर्माहत बनायोः सभामुख सापकोटा


काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अप्रत्यासित रुपमा प्रतिनिधिसभामाथि अवरोध सिर्जना गरिएकामा सिंगो प्रतिनिधिसभा र आफू मर्माहत भएको बताएका छन् ।

बुधबार विज्ञप्ति जारी गरी सभामुख सापकोटाले संसद् विघटन गरेकामा मर्माहत भएको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो ।

विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।’’सात दशकयताका विभिन्न आन्दोलनको जगमा संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिंगो मुलुकको प्रमुख कार्यभार रहेको विज्ञप्तिमा उल्लेख छ ।