वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता गर्नेलाई कारवाही गर्न अख्तियारलाई पत्र


काठमाडौं । संसदको सार्वजनिक लेखा समिलिले वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता गर्नेलाई कारवाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको छ ।

बिहीबार बसेको समितिको बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धी उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल गर्दे वैज्ञानिक वन व्यवस्थापनको नाममा अनिमितता गर्ने कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई पत्र पठाउने निर्णय गरेको हो । त्यस्तै बैठकले अनियमित रुपमा काटिएर अलपत्र रहेका काठहरु व्यवस्थित रुपमा बिक्री बितरण गर्न निर्देशन दिएको छ ।

त्यस्तै चूरे लगायत संरक्षित वन क्षेत्रमा लागू गरेको वैज्ञानिक वन व्यवस्थापन कार्यविधिलाई सो क्षेत्रमा निषेध गर्ने निर्णय गरिएको समिति सचिव रोजनाथ पाण्डेले जानकारी दिए । त्यस्तै सामूदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन कार्यबिधिलाई व्यवस्थित गर्ने निर्णय भएको उनले बताए ।

बैठकमा समिति सदस्यहरुले वैज्ञानिक वन व्यवस्थापनको नाममा अनियमितता गर्नेलाई कारवाही गर्नुपर्ने बताएका थिए । उनीहरुले वैज्ञानिक वन व्यवस्थापनको नाममा काटिएर अलपत्र रहेका काठहरुलाई बर्षायाम अघि नै व्यस्थापन गर्नुपर्ने धारणा पनि राखेका थिए । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धी असार ५ गते गठन भएको उपसमितिले समितिसमक्ष असोजमा प्रतिवेदन बुझाएको थियो ।