कांग्रेसले आज सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्दै


काठमाडौं । नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ । ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन् ।

अपिलमा उनले ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ समेत आमनेता कार्यकर्तामा आग्रह गरेका छन् । अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन् । देउवाले अपिलमा ‘नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलाएको समेत जनाएका छन् ।