पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु
पाल्पा । पाल्पामा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । तानसनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय पुरुषको बुधबार बिहान ४ बजे र गल्याङ नगरपालिका ४ स्याङ्जाका ३९ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
मृत्यु हुने बगनासकाली १ का पुरुषको मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि १४ गते अस्पताल भर्ना गरिएको थियो । यस्तै गल्याङ्गका पुरुषलाई भने स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षणका क्रममा मंसिर २ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
आज मृत्यु भएका दुईसहित हालसम्म पाल्पामा २४ जना संक्रमितले ज्यान गुमाएका स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिए । पाल्पामा समुदायमा संक्रमण फैलिएपछि हाल सक्रिय संक्रमितको संख्या २ सय ३७ रहेको छ ।