जागिर गुमाएका पत्रकारलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न महासङ्घको माग
काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमणका कारण सञ्चार क्षेत्रमा परेको असर र समस्याबारे नवनियुक्त अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण गराएको छ ।
पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले बिहिबार १३ बुँदे ध्याकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेको हो । महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा संकटपूर्ण अवस्थामा अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुमा परेको प्रभाव र असरवाट उत्पन्न समस्या सम्वोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तय गर्न आग्रह गरेको छ ।
त्यस्तै, कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
महासंघले दुर्घटना विमालाई थप विस्तार गरी स्वास्थ्य विमा र जीवनविमाको व्यवस्था गर्न पनि अग्रह गरेको छ । महासंघमा सदस्यता नविकरण भएसँगै स्वतः विमा हुने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ । यसैगरी सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णहरु पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ ।
ध्याकर्षण पत्र बुझ्दै अर्थमन्त्री विष्णु पौडेलले महासंघले मिडियाका समस्याका सम्बन्धमा दिएको सुझावलाई सकारात्मक रुपमा लिएर अघि बढ्ने बताए । उनले राज्य मिडियाप्रति नियन्त्रण र नियमन भन्दा पनि प्रोत्साहन,सहयोग,सहकार्य र समन्वयको ढङ्गबाट अघि बढ्न प्रतिबद्ध रहेको बताए ।