लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड लगाउन यात्रुलाई यातायात व्यवस्था विभागको सुझाव
काठमाडौं । यातायात व्यवस्था विभागले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन आग्रह गरिएको विभागले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने विभागको भनाई छ ।
त्यस्तै विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नतिर्न पनि यात्रुलाई आग्रह गरेको छ । सरकारले यसअघि आधा सिटमा मात्रै यात्रु बोक्दा साविकको भाडामा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने व्यवस्था गरेको थियो । तर, विभागले एक सूचना जारी गर्दै सो नियम खारेज भइसकेको र साविककै दरमा भाडा लिनुपर्ने बताएको छ । भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।