मोरङ र नवलपरासीका गरी थप दुई कोरोना सङ्क्रमितको मृत्यु
विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।
उनलाई यही असोज १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा उपचारका लागि भर्ना गरिएको थियो । उनी श्वासप्रश्वास र मृगौलासम्बन्धी दीर्घ रोगी थिए ।
नवलपरासी पश्चिमका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार थालिएको थियो ।