रुपन्देही र चितवनमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित दुई जनाको ज्यान गएको छ । उपचारका लागि अस्पतालमा भर्ना भएका दुई जना र अर्का एक जना अस्पतालको सम्पर्कमा आएका व्यक्ति गरीतीन जनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीको कुनै पनि अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । शनिबार स्वास्थ्यमा समस्या देखिएर लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनको शनिबार नै कोरोना पुष्टि भएको थियो ।
बिरामीको अवस्था जटिल रहेकाले लुम्बिनी प्रादेशिक अस्पतालले आईसीयू अनिवार्य भएपछि दाङ रेफर गरेकोमा धानखोला पुग्दा उनको मृत्यु भएको थियो । त्यसैगरि गत असोज २२ कोरोना पुष्टि भएर २४ गते देखि कोरोना बिशेष अस्पतालमा भर्ना भएका ७० वर्षीय पुरुषको शनिबार राति ९ः५५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
उनी गत २२ गते देखि कोरोना बिशेष अस्पतालमा उपचार गराईरहेका थिए । बुटवलमा मध्यराति २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ गते कोरोना पुष्टि भएर कोरोना बिशेष अस्पतालमा भर्ना भएकी ६१ वर्षीया महिलाको राति २ बजे मृत्यु भएको डा. गौतमले बताए । गएराति भएको मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३८ पुगेको छ । संक्रमितको मृत्यु दिनहुँ बढेसंगै बुटवलमा त्रास फैलिन थालेको छ ।
यसैबीच, चितवनमा थप एक जना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १ निवासी ७५ वर्षीया महिलाको चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । दम, उच्च रक्तचाप र निमोनियासम्बन्धि समस्या भई असोज २२ गते अस्पताल भर्ना भएकी उनको असोज २३ गते पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा राखेर उपचार भईरहेको समयमा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।