कस्तो छ डा. केसीको स्वास्थ्य ? भिडियोमा हेर्नुस्
काठमाडौं । अनसनरत डा गोविन्द केसी र सरकारी वार्ता टोलीबीच अहिले शिक्षा मन्त्रालयका वार्ता भइरहेको छ । राति ९ बजेपछि दुई पक्षबीच वार्ता भइरहेको हो । दिनभरीको अनौपचारिक छलफलपछि वार्ता सुरु भएको हो ।
आजै सम्झौता गरेर अनसन तोडाउने प्रयास भइरहेको बताइएको छ । डा केसीका मागको सम्बन्धमा सरकारी टोली र केसीका प्रतिनिधिबीच बिहीबारदेखि वार्ता सुरु भएको हो ।
थप गृहकार्य आवश्यक भएको भन्दै सरकारी पक्ष र डा. केसीका प्रतिनिधिबीच बिहीबार भएको वार्ता शुक्रबार पुनः बस्नेगरि सकिएको थियो । केसी अनशन बसेको २४ दिनमा वार्ता टोली गठन गरेर २५ औं दिनमा सरकारले औपचारिक वार्ता सुरु गरेको हो । बुधबार सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।
समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् । केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन भएको थियो ।
डा केसी वार्ता टोलीको सदस्यमा डा अंजनीकुमार झा, डा. लोचन कार्की र ओमप्रकाश अर्याल सदस्य छन् । भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट असोज ६ गते काठमाडौं ल्याइएपछि केसी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।
भिडियो डेभिड पाण्डेको फेसबुकबाट