सरकारी टोली र डा. केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक, फेरि साँझ छलफल हुने
काठमाडौं । अनशनरत प्रा डा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक रुपमा अघि बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार भएको पहिलो चरणको वार्ता सकारात्मक देखिएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए ।
उनले डा केसीले राख्नुभएको मागको बुँदागत रुपमा छलफल भएको र साँझ दुवै पक्षले मस्यौदा तयार गरेपछि बैठक पुनः बस्ने उनले बताए । डा. केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका छन् । डा केसीले राख्नुभएको मागका बिषयमा केन्द्रित भएर छलफल भएको र सहमति खोज्ने प्रयासका साथ साँझ पुनः वार्तामा बस्ने अध्यक्ष कार्कीले बताए ।
डा. केसीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा छन् । सरकारले टोली गठन गरेलगत्तै डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ताटोली गठन गरिएको थियो ।
टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. कार्की छन् । चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका हुन् ।