चिकित्सकहरुद्वारा दुई घण्टा अस्पतालका आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प
काठमाडौं । अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग राख्दै आन्दोलनरत चिकित्सकहरुले अस्पतालहरुको आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका छन् ।
नेपाल चिकित्सक संघको आव्हानमा चिकित्सकहरुले बिहीबार बिहान ९ देखि ११ बजेसम्म आकस्मिक र कोभिड बाहेकका सेवा ठप्प पारेका हुन् । चिकित्सकहरुले बिहिबार बिहानदेखि भने ९ देखि ११ बजेसम्म अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना समेत दिएका छन् ।
सरकारले गठन गरेको वार्ता टोलीले डा केसीको माग तत्काल सम्बोधन गरेर डा केसीको अनसन छिट्टै तोडिनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । संघले डा केसीको माग पुरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय पनि गरेको छ ।
डा केसीको मागप्रति सरकारले वास्ता नगरेको भन्दै चौतर्फी विरोध शुरुभएपछि सरकारले बुधबार डा केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेको थियो । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली र डा केसीको वार्ता टोलीबीच बिहीबार शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको छ ।