कीर्तिमानी आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
काठमाडौँ । कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको बुधबार बिहान राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बुधबार बिहान काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गरिएको हो । शेर्पाको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।
त्यस्तै सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो । सगरमाथा शिखर आरोहणमा आफ्नो जीवनकालमै किंवदन्तीझैं बनेका आरोही आङरिता शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।
बोतलको अक्सिजनबिना १० पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका शेर्पाको बिहान १० बजे कपनस्थित छोरी डोमाको घरमा निधन भएको हो । आङरिता २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका– थामे) मा जन्मिएका थिए ।
‘हिउँचितुवा’ का नामले परिचित उनले नेपालका ८ हजार मिटर अग्ला सबै हिमाल अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाएका थिए । उनले पाकिस्तानको केटु हिमाल पनि आरोहण गरे । सन् १९८३ देखि १९९६ सम्ममा १० पटक बोतलको अक्सिजनबिना सगरमाथा आरोहण गरेपछि उनको कीर्ति विश्वसामु फैलिएको थियो । उनको यो कीर्तिमानलाई कसैले पनि तोड्न सकेको छैन । आङरिताले अन्तिमपटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए ।