काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना आन्तरिक उडान ठप्प भएको थियो । सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान गर्नेगरी सरकारले आन्तरिक उडान सञ्चालन गरेको हो ।
एक सातापछि क्रमशः उडान सङ्ख्या थपिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । वायु सेवा प्रदायक कम्पनीले पनि पहिलो साता २५ प्रतिशत उडान हुने र क्रमशः यात्रुको माग र बजारको आवश्यकतालाई मध्यनजर गर्दै उडान सङ्ख्या बढाइने बताएका छन् ।
आन्तरिक उडान शुरु भएसँगै सबैजसो एयरलाइन्सको पहिलो रोजाइ पर्यटकीय क्षेत्र पोखरा, चितवनलगायत गन्तव्य छन् । आज बुद्ध एयरले पहिलो उडान पोखरामा गरेको छ । बिहान ८ः०० बजे बुद्धको एटिआर ७२ जहाजले ५६ यात्रु लिएर पोखरा उडेको कम्पनीले जनाएको छ । यो उडानमा प्राधिकरणका उच्च अधिकारी, वायुसेवा सञ्चालक सङ्घका पदाधिकारीलगायत पनि पोखरा गएका छन् ।
बुद्धले काठमाडौँबाट विभिन्न गन्तव्यमा आज १८ उडान गर्दैछ । कम्पनीले राजविराजवाहेक सबै गन्तव्यमा उडान भर्ने जनाएको छ । यती एयरलाइन्सले पनि पहिलो उडान पोखरा गर्दैछ । यतीले आज तीन उडान पोखरा, भरतपुर र विराटनगर उडान गर्नेछ । यता नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले असोज ५ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानको तालिका सार्वजनिक गरेको छ । निगमले काठमाडौँदेखि देशका विभिन्न १० गन्तव्यमा हुने उडान तालिका बनाएको हो ।

प्रतिक्रिया