‘स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौं, वेवास्ता गर्ने भूल नगरौं’
काठमाडौं । कोरोना सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार कार्कीले आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै यसबाट सजग रहन सबैलाई अनुरोध गरेका छन् । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ ।
कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए । उनले भने, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।”
कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ थियो । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले बताए । उनले भने, “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोर्याउन चाहन्छु ।”
विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. काकीले बताए । नेपालमा स्रोत साधन नभएपनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ । उनले भने, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।” कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरेका छन् ।