सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा आन्दोलन थप चर्काउने चेतावनी


काठमाडौंको बानेश्वरस्थीत निजामती कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुले आफ्ना माग पुरा नभए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।
अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघले स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा सुविधा, बढुवा, विनियमावली संशोधन लगायतका विषयमा अफुहरुले राखेका माग पुरा नभए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । अस्पतालका स्वास्थ्यकर्मी कर्मचारीहरुले १५ दिन देखि अस्पताल अगाडि कालो ब्यानर झुण्ड्याएर आफ्ना माग राखेका थिए भने अहिले हातमा कालोपट्टि बाधेर काम गर्ने र दिनको १५ मिनेट अस्पताल अगाडि प्रदर्शन गर्ने कार्यक्रम गर्दै आएका छन् । संघका अध्यक्ष सन्तोष धिमालले अहिलेको समयमा आन्दोलन गर्नु पर्ने बाध्यात्मक अवस्था पैदा भएको बताउनुभयो । आफुहरुको मागका बारेमा कुनै सुनुवाइ नभएकाले आन्दोलन गर्नुपरेको उहाको भनाई छ ।
अध्यक्ष धिमालले विगत दुई वर्ष देखि नै अस्पतालको व्यवस्थापन समक्ष आफ्ना मागहरु राखेको तर अहिले सम्म समाधान नभएको गुनासो गर्नुभयो । उहाले आन्दोलन गरेपनि पहिलो प्राथमिकता बिरामी जाँच नै रहेको बताउनुभयो ।