उपाध्यक्ष गिरीको नियुक्ति बदरको निवेदन दर्ता गर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै बदर गर्न माग गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको सयुक्त इजलाशले यसअघि सर्वोच्च प्रशासनले दरपिट गरेको उक्त रिट निवेदन दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको हो।

अधिवक्ता नरेश भट्टले पेश गरेको रिट निवेदनमा आयोगका उपाध्यक्ष डा. गिरीको कानुन अनुसार योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरिएको छ । निवेदनमा डा.गिरीको नियुक्ति गैरकानुनी भएको भन्दै अहिलेसम्म उक्त पदमा बस्दा लिएको तलव र भत्ता पनि फिर्ता गर्न माग गरिएको छ ।

डा.गिरीको नियुक्ति हुनुअघिनै व्यवस्थापिका संसदमा उनको योग्यता नपुगेको भन्दै विरोध समेत भएको थियो । चिकित्सा शिक्षा राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत गिरी त्यहाँ पनि  विवादमा मुछिएका थिए।