म्याग्दी । लगातारको बर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरो जाँदा नौ जना वेपत्ता भएका छन् । पाँच वटा घर पहिरोले बगाएको छ । बेनी जोमसोम सडकको बेलिब्रिज बाढीले बगाएको छ । धवलागिरी गाउपालिका–६ मराङको रिखामा सात जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएका मराङका वडा अध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार भिमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भिमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताए । माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका उनले बताए ।
यसैगरी मालिका गाउपालिका–७ बिमको दुलेमा पहिरोले सोमनाथ पौडेलको घर बगाउँदा दुई जना वेपत्ता भएका स्थानीय थमन जुग्जालीले बताए । सो पहिरोले नौमानेको शिव आधारभूत विद्यालयको भवनमा समेत क्षति पुर्याएको छ ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । बिरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए । घरका मानिसहरुले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा १ जना घाइते भएका छन् ।
यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज समेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।
नदीको कटानका कारण बेलिब्रिजको राहुघाट तर्फको जिप भत्काएर बगाएको हो । सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।
गलेश्वरका स्थानीय दिपक कार्की बिखर्चीले ठेकेदारले पक्कि पुल बनाउन ढिलाई गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताए । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ ।
पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको डिएसपी किरनजंग कुँवरले बताए । प्रहरी टोली घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए ।

प्रतिक्रिया