नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित


काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक २ दिन पछि सरेको हो ।

नेकपा भित्रको विवादका कारण स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदै आएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित हुँदै आएको छ । मंगलबार दुई अध्यक्षबीचको भेटपछि बुधबारदेखि बैठकलाई निरन्तरता दिने सहमति भएको बताइएको थियो ।

तर अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ । असार १० गतेदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री ओली सरकार र पार्टीको नेतृत्वबाट राजीनामा नदिने बताउँदै आएका छन् भने अरु नेताहरु दुबै पदबाट राजीनामा दिनुपर्ने अडानमा छन् ।