इजरायली दूतावासद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
मंगलबार नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराएका हुन् । राजदूत ओमेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री उपलब्ध गराएका हुन् ।
कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताए । इजरायल सरकारले पीपीई सेट ५० थान, पीपीई बडि कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग रुवरुप उपलब्ध गराएको छ ।