स्वास्थ्यकर्मी संक्रमित भएपछि काठमाडौं मेडिकल कलेजका सेवा केही दिन बन्द
काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज( केएमसी) मा कार्यरत एक चिकित्सक तथा एक जना नर्सलाई कोरोना संक्रमण भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । साथै अस्पतालमा उपचारका लागि आएकी एक जना सुत्केरी महिला तथा ओपीडीमा जाँच गराउन आएका एक अर्का व्यक्तिमा कोरोना देखिएपछि संक्रमण फैलिन नदिन अस्पतालको सेवा बन्द गरिएको हो ।
अहिले अस्पतालभित्र कसैलाई छिर्न दिइएको छैन । ट्रेसिङमा फेला परेका अस्पतालका डेढ सय स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशाला पठाइसकिएको छ । आज अझै केही स्वास्थ्यकर्मीको स्वाब पठाइने अस्पतालले जनाएको छ ।
शल्यक्रियाका लागि तयार राखिएका बिरामी लेभल–३ का अस्पतालमा रिफर गरिएको छ भने अस्पतालमा नै उपचाररत अन्य ६० जना बिरामीको स्वाब परीक्षणपश्चात रिपोर्ट नेगेटिभ आएपछि मात्रै बाहिर जान दिइनेछ ।