‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’


काठमाडौं । संविधान संशोधनको प्रस्तावका बारेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले दिइरहेका प्रतिक्रियाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खण्डन गरेको छ । नेकपाका नेताहरुले कांग्रेसको अनुरोधमा बुधबार संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएको बताएपछि कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्, ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ?’ उनले मंगलबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा केन्द्रीय कार्यसमिति बैठकबाट संस्थागत निर्णय गरेर देशको नयाँ राजनीतिक नक्सा र संविधान संशोधनको पक्षमा उभिने बताइसकेको पनि स्मरण गराएका छन् ।

उनले लेखेका छन्, ‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? प्रधानमन्त्री प्रक्रिया सुचारु गर्नोस् केन्द्रीय समितिको बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं । ’