काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निःशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेताहरुसँग विशेष अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्रीले वार्ता र कूटनीति नै यस समस्याको समाधान गर्ने एक मात्र उपाय भएको बताएका थिए । बैठकमा कांग्रेस नेताहरुले आफ्नो पार्टीको केन्द्रीय समिति बैठकसम्म पर्खन आग्रह गरेका थिए । बैठकमा पार्टीका नेताहरुले राखेको धारणाबा बारेमा प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘ सुगौली सन्धिले कोरेको नेपालको भुभागमा नेपालको हक स्थापित हुनुपर्छ । उच्चस्तरीय कुटनैतिक प्रक्रियाबाट समाधानमा पुगौं । संविधान शंशोधनमा सर्वसम्मति बनाए रास्ट्रीय एकता अझ मजबुत बन्नेछ । संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गरिनेछ ।’
बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस्तो सुझाव दिएका छन्,‘भौगोलिक अखण्डताको विषयमा दलहरूवीच मतभिन्नता छैन र हुनुहुन्न । भारतसंग वार्ताको नेतृत्व उहाँहाँले नै गर्ने हो । वार्तामा हातमाथि पार्न प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउनुपर्छ र सीमा रक्षा गरेर बसेका मधेसी र थारू लगायत सबैलाई विश्वासमा लिनुपर्छ । संशोधनमा सर्वसम्मति हुन्छ ।’

प्रतिक्रिया