काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो लकडाउनले सामाजिक रूपमा समस्या सिर्जना हुन थालेको र बेथितिहरूसमेत देखिन थालेकाले खबरदारी गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियनको २९औं स्थापना दिवस मनाउन मंगलबार जुम एपमा आयोजना गरिएको भर्चुल कार्यक्रममा सभापति देउवाले बेथितिहरुका विरुद्धमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका हुन् । स्वास्थ्य सामग्री खरिदलगायत विषयमा भएका अनियमितताको विषयहरूसमेत उजागर हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।
उनले सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई बचाउन सरकारले विशेष राहत प्याकेजसंग सम्बन्धित कार्यक्रम घोषणा गर्नुपर्ने बताए । पत्रकारलाई बचाउनुको साटो उल्टै प्रधानमन्त्री नै मिडियाको विरोधमा लागेको देखिएको उनले बताए । देउवाले यो संकटका बेला पनि पत्रकारहरूले आफ्नो कर्तव्य निर्वाह गर्दै आएको कुरा सह्रानीय भएको भन्दै मिडियाले भूमिका खेल्नुपर्ने बताए ।
कोरोना कहरका कारण सञ्चार क्षेत्र र त्यसमा कार्यरत पत्रकारहरू निकै संकटमा परेको भन्दै उनीहरूको विषयमा सरकारलाई संवेदनशील हुन आग्रह गरे । कोरोना परीक्षणको दायरा सरकारले बढाउन नसकेको भन्दै परीक्षणको दायरा बढाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया