विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले थाल्यो गृहकार्य
काठमाडौं । कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।
मंगलबार बसेको समितिको बैठकमा भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको उच्चस्तरीय समितिका सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए ।
समितिको बैठकमा सात वटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरु लगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको उनले बताए ।
समितिको बैठकमा प्रदेश र स्थानीय तहमा बनेका क्वारेनटाइनहरुलाई तेकिएको मापदण्ड अनुसार व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको सचिव विडारीले बताए । क्वारोन्टाइनमा रहनेहरुको सुरक्षाको व्यवस्था, तथ्याङ्क राख्ने लगायतका काम नेपाली सेनाको उपस्थितिमा स्वास्थ्यकर्मीहरुको अगुवाईमा हुने गरी कार्ययोजना तयार गर्न लागिएको विडारीले जानकारी दिए ।