भारतद्वारा नेपाललाई ३० हजार थान पिसिआर टेस्ट कीट प्रदान
काठमाडौं । भारत सरकारले ३० हजार थान पिसिआर टेस्ट कीट नेपाललाई सहयोग गरेको छ । भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई आइतवार कोभिड–१९ पिसिआर हस्तान्तर गरेका हुन् । सो टेस्ट कीट पुनाका माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीटहरु हस्तान्तर गरिएको दूतावासले जनाएको छ ।
भारतीय जनताकातर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको सो टेस्ट कीटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दूतावासले विश्वास व्यक्त गरेको छ । स्वास्थ्यमन्त्री ढकालले नेपालमा प्रभावकारी रुपले कोरोना परीक्षण भएको बताए । कोरोनाबाट एक जनाको निधन हुनु दुःखद भएको भन्दै कोरोना फैलन नदिन सरकार सचेत रहेको बताए । यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधी हस्तान्तरण गर्नुभएको थियो ।
औषधि र परीक्षण कीटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौती विरुद्घ तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवम जनता बीचको सहकार्यमा जोड दिएको छ ।