महानगरको वातावरण विभागका ९३४ जना कर्मचारीको कोरोना परीक्षण
काठमाडौं । काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन बिभाग मातहतमा रहेका ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पिसिआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ । यसमध्ये आरडिटी (र्यापिड डाइग्नोष्टिक टेष्ट) परीक्षण गरिएकामा ३ जना महिला स्वास्थ्य स्वयम्सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको छ ।
त्यसै गरी २७० जनाको पिसिआर परीक्षण गरिएको छ । आरडिटि परीक्षणमा पोजटिभ नतिजा देखिएका कर्मचारीहरुको पिसिआर परीक्षण गरिसकिएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले परीक्षण गराएको हो ।
सफाइमा काम गर्ने कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोरहरुलाई पिसिआर बिधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीहरुलाई आरडिटी परीक्षण गरिएको थियो । शुक्रबार गरिएको आरडिटी परीक्षण) मात्र हो । यसको नतिजालाई कोरोना मान्न सकिँदैन । परीक्षणमा पोजेटिभ नतिजा आएकाहरुलाई टेकुस्थित वातावरण व्यवस्थापन विभागको भवनमा क्वारेन्टाइनमा राखिएको बिभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
आरडिटी परीक्षणमा पोजेटिभ हुनु कोरोना हुनुु होइन । उनीहरुको पिसिआर बिधिबाट परीक्षण गरेका छौं । यसको नतिजा आएपछि थप निर्णय गर्छौ, बिभागका प्रमुख श्रेष्ठको भनाइ छ ।
वातावरण व्यवस्थापन विभाग मातहतका ९४५ जना कर्मचारीमध्ये ७ सय ३० कुचीकार छन् । उनीहरुमध्ये ४९३ जनालाई वडा कार्यालयहरुबाट सरसफाइमा खटाउने गरिएको छ भने १६० जनालाई विभागले मुल सडकलगायत अन्य सार्वजनिक स्थलको सफाइमा खटाउने गरेको छ ।
वातावरण प्रशासन महाशाखा प्रमुख सरस्वती पोखरेलकाअनुसार शंखपार्कमा ३ जना, सभा गृहमा ७ जना, बागदरबार १० जना, शंखधर उद्यानमा १७ जना, बसन्तपुरमा १३ जना, बालाजु पार्कमा २७ जना र ल्याण्डफिल साइट व्यवस्थापनमा ९ जना कर्मचारी छन् ।
बिभागमा प्रशासनिक र प्राबिधिक गरी टेवुलमा काम गर्ने १५ जना, भारी सवारी चालक मेकानिकल शाखामा ३० जना र १७ जना नगर प्रहरी छन् । यसै गरी भारी सवारी चालक ४२ जना र हलुका सवारी चालक ६१ जना छन् ।