स्वास्थ्य, पूर्वाधार र रोजगारी सरकारको प्राथमिकतामाः राष्ट्रपति भण्डारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छन् । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको अभियानमा सबैलाई एकढिक्का भएर लाग्न आग्रह गरेकी हुन् ।

उनले सरकारले चालेको कदममा साथ दिई सहयोग गरेकोमा सबैमा धन्यवाद दिंदै संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुने बताइन् । उनले सरकार परिपूर्ण लोकतन्त्रतर्फ अघि बढेको पनि बताइन् ।

राजनीतिक स्थायित्व मुलुकको दीर्घकालीन र अवरोधरहित विकासका लागि अत्यत्न महत्वपूर्ण हुने भन्दै राष्ट्रपतिले राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुने बताइन् । उनले सरकारले दुईवर्षको छोटो अवधिमै उत्साहवद्र्धक उपलब्धि हालिस गर्न सफल भएको बताइन् । राष्ट्रपतिले मुलुकमा शान्ति र अमनचयन कायम भएको दाबी समेत गरेकी छन् ।

उनले कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरूलाई स्थानीय तहमार्फत राहत उपलब्ध गराइएको, मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्र हितको रक्षा भएको छ दाबी गरेकी छन् ।

उनले कोरोना महामारीका कारण मानवजातिमाथि सबैभन्दा ठूलो संकट पैदा भएको भन्दै नीति तथा कार्यक्रमले कोरोना प्रभावले पारेका असर न्यूनीकरण गर्न कार्यक्रमहरु बनाइएको बताइन् । कोरोनाका कारण मौजुदा स्वास्थ्य सुविधा अपर्याप्त देखिएको भन्दै उनले स्वास्थ्य पूर्वाधार र रोजगारी प्राथमिकता रहेको उल्लेख गरिन् ।