दल विभाजन गर्ने र सांसद अपहरण गर्न लगाउने प्रधानमन्त्री चाहिंदैन, राजीनामा दिनुस्ः बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईंले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा भट्टराईले प्रधानमन्त्री दल विभाजन गर्ने र सांसद अपहरण गर्ने काममा रहेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।
देशको कार्यकारी पार्टी फुटाउने र संवैधानिक निकाय कब्जा गर्ने काममा लाग्नु लोकतन्त्रका लागि खतरा भएको भट्टराईको भनाइ थियो । उनले अहिले सरकारको छवि राम्रो नभएको र राजनीतिमा सबै भ्रष्ट, पदलोलुप भन्ने विम्ब बनेको बताए ।
सांसद अपहरण गरेको विषयको जाहेरी समेत नलिएको भन्दै उनले रातारात सांसद र पूर्व प्रहरी प्रमुख किन जानु पर्यो भनी प्रश्न गरे। उनले कोरोनापछिको उपचारलाई प्रभावकारी बनाउनुपर्ने र अब अर्थतन्त्रलाई मजबुद बनाउनुपर्नेमा पनि सरकारको ध्यान जानुपर्ने बताए ।