नेपाल कम्युनिस्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य
सरकारले विदेशस्थित कतिपय नेपालीहरूलाई वर्गीकरण गरेर प्राथमिकताका आधारमा स्वेदश ल्याउनेबारे विचार गरिरहेको समाचारलाई ने.क.पा. (मसाल)ले सकारात्मक रूपमा लिन्छ । आखिरमा विदेशस्थित नेपालीहरूलाई अनिश्चित कालसम्म आफ्नो देशमा आउन रोक्नु न सम्भव हुनेछ, न व्यवहारिक र उचित नै । लकडाउनलाई पनि अनिश्चित कालसम्म लम्बाउन सकिने छैन र त्यसपछि विदेशस्थित नेपालीहरू स्वत नेपाल आउन खुला हुनेछन् । त्यसपछि ठूलो सङ्ख्यामा विदेशबाट नेपाल आउने नेपालीहरूका लागि कुन प्रकारको योजना बनाउने ?
सरकारले अहिलदेखि नै गम्भीरतापूर्वक विचार गर्नुपर्छ र आगामी बजेटमा त्यसबारे सरकारले ठोस नीति र कार्यक्रम ल्याउनु पर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ । तर यो दीर्घकालिन प्रश्न हो र यससम्बन्धी एउटा समस्याप्रति हामीले सरकारको विशेष ध्यान अकार्षित गर्न चाहन्छौँ ।
आज बिहान परराष्ट्रमन्त्रीले एउटा अनलाइन पत्रिकालाई दिएको अन्तरवार्ताप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । उनको अन्तरवार्तामा खाडी र मलेसिया समेतका मुलुकहरूमा भएका नेपालीहरूलाई स्वदेशमा ल्याउने योजना भएको कुरा बताइएको छ । तर त्यस सन्दर्भमा भारतस्थित प्रवासी नेपालीहरूबारे केही पनि भनिएको छैन । भारतका लाखौँ नेपालीहरूलाई स्वेदशमा ल्याउन तत्काल सम्भव नभएपनि कोरोना भाइरसको कारणले धेरै नै अप्ठ्यारो परेका नेपालीहरूलाई नेपालमा ल्याउनको लागि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
समस्या भारतीय सीमामा आएर बसेका करिब एकहजार नेपालीहरूको मात्र होइन । भारतमा विभिन्न होटेल, रेष्टुरा आदिमा वा चौकीदारी जस्ता निम्नस्तरीय नोकरी गर्ने नेपालीहरू कोरोना भाइरसको कारणले बेरोजगार वा बेखर्ची भएका छन् । उनीहरूलाई दैनिक जीवन निर्वाह गर्न पनि गाह्रो भएको छ र उनीहरू सडकमा रुवावासी गर्दै हिडिरहेका समाचारहरू प्राप्त भइरहेका छन् ।
भारतमा विभिन्न राज्य सरकारहरूले आफ्नै देशका नागरिकहरूलाई पनि क्बारेन्टाइनमा राखेर लामो समयसम्म उनीहरूको खानपिनको व्यवस्था गर्न नसकेको कारणले उनीहरूलाई आफ्ना आफ्ना राज्यमा पठाउने व्यवस्था गरेका छन् । त्यसप्रकारको स्थितिमा उनीहरूले क्बारेन्टाइनमा राखेका नेपालीहरूलाई पनि खानपिन बन्द गरेर निकाल्दैछन् ।
हालै प्राप्त एउटा ताजा समाचारअनुसार उत्तराखण्डको हलद्वानीमा क्बारेन्टाइनमा राखिएका १७ जना नेपालीहरूलाई जर्बजस्तीपूर्वक त्यहाँबाट हटाइयो । कैलालीको सिमामा रहेको पलियाको क्बारेन्टाइनमा राखिएका करिब दुईसयजना नेपालीहरूलाई एकहप्तादेखि एकछाक मात्र खान दिने गरिएको छ । त्यो पनि छिटै बन्द गर्ने कुरा गरिएको छ । यी दुवै एकाध प्रतिनिधि घटनाहरू मात्र हुन । नेपालीहरूले भारतका विभिन्न सहरहरूमा धेरैतिर त्यसप्रकारको स्थितिको सामना गर्नु परिरहेको छ ।
त्यस सन्दर्भमा यो उल्लेखनीय छ कि केही दिन पहिले पलियाको क्बारेन्टाइनमा बसेका दुईसय नेपालीहरूलाई नेपालमा फिर्ता ल्याउनको लागि सिमासम्म ल्याइएको थियो । तर केन्द्रको आदेश नभएको भनेर उनीहरूलाई पुनः पलियामा नै फर्काएर पठाइएको थियो ।
माथि हामीले भारतका विभिन्न सहरमा क्बारेन्टाइनमा राखेर खापिनको व्यवस्था गरिरहेका नेपालीहरूबारे नै केही चर्चा गर्यौँ । स्वयं भारतका नागरिकहरूलाई पनि केन्द्रीय वा राज्य सरकारहरूले खानपीनको व्यवस्था गर्न नसक्ने भएर आफ्नाआफ्ना राज्यहरूमा पठाइसकेको अवस्थामा क्बारेन्टाइनमा राखिएका नेपालीहरूलाई उनीहरूले सधैँ खानपिनको व्यवस्था गरिराख्नेछन् भनेर सोच्न सकिन्न । हलद्वानी र पलियाका उदाहरणहरूबाट त्यो कुरा प्रष्ट भइसकेको छ ।
माथि हामीले क्बारेन्टाइनमा राखिएका नेपालीहरूबारे नै केही चर्चा गर्यौँ । तर क्बारेन्टाइनमा नराखिएका र बेखर्ची भएर भोकभोकै सडकमा हिडिरहेका नेपालीहरूको पनि ठूलो सङ्ख्या छ । उनीहरूको जिम्मेवारी सरकारले लिनु पर्छ कि पर्दैन वा उनीहरूलाई भोकभोकै सडकमा मर्न दिने ? त्यो प्रश्नको सरकारले जबाफ दिनुपर्दछ । हामीलाई प्राप्त भएको जानकारीअनुसार भारतमा नेपालमा फर्कन चाहने नेपालीहरूको सङ्ख्या लाखौँ भए पनि अहिले बेखर्ची भएर धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरू भारतमा करिब २०देखि २५ लाख मात्र छन् । त्यसरी भारतस्थित नेपालीहरूको वर्गीकरण गरेर एकदम अप्ठ्यारो अवस्थामा परेका करिब २०देखि २५ हजार नेपालीहरूलाई खाडीका देशहरू वा मलेसियाबाट जस्तै, भारतबाट पनि नेपालमा ल्याउनको लागि सरकारले तुरुन्त पहलकदमी गर्नुपर्ने आवश्यकता छ । दिल्लीस्थित नेपाली राजदुतावास वा भारतका विभिन्न नेपाली संस्थाहरूको माध्यमद्वारा त्यहाँका एकदम अप्ठ्यारोमा परेका नेपालीहरूको तथ्याङ्क वा जानकारी सरकारले लिन सक्नेछ ।
अन्तमा खाडि र मलेसियाका अप्ठ्यारोमा परेका नेपालीहरूका साथै भारतका पनि धेरै नै अप्ठ्यारोमा परेका नेपालीहरूलाई तुरुन्त स्वदेशमा ल्याउनका लागि आवश्यक व्यवस्था गर्न हामीले सरकारसित माग गर्दछौँ ।
२०७७ वैशाख २५ गते
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया