काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनले अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्न थालेकोले खुकुलो पार्नुको बिकल्प नभएको बताउनुभएको छ ।
मंगलबार संसदको कानून, न्याय तथा मानवअधिकार समितिमा गृहमन्त्री थापाले रोजगारी गुमेको र अन्य क्षेत्रमा पनि नकारात्मक प्रभाव पर्न थालेको भन्दै लकडाउन क्रमशः खोल्नुपर्ने बताएका हुन् । उद्योग र सेवाक्षेत्र क्रमशः खोल्नुपर्ने गृहमन्त्री थापाको भनाइ छ । कोरोनालाई निस्तेज गर्नका लागि लकडाउन लगाइएको भए पनि यसलाई खुकुलो पार्नुपर्ने उनले बताए । उनले सामाजिक सद्भाव कायम गर्ने र राष्ट्रिय एकता कायम गरेर अगाडि बढ्नुपर्ने बताए ।
कोरोनाका कारण विदेशबाट नेपाल आउने र सहरबाट गाउँ जाने क्रम बढेको भन्दै गृहमन्त्री थापाले अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि सबैले मिलेर काम गर्दै कोरोना र यसबाट सिर्जित समस्यालाई परास्त गर्नुपर्ने बताए । विश्व अर्थतन्त्र नै मानवसमाज नै कोरोना भाइरसको घेराबन्दीमा परेको भन्दै गृहमन्त्री थापाले यसबाट विश्वमा नै सामाजिक र राजनीतिक संकट पैदा हुने बताए । बैठकमा सांसद देव गुरुङले सीमामा कडाइ गरेर मात्रै कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताए ।
त्यस्तै आरडीटी परीक्षण विश्वसनीय नभएको भन्ने गुनासो आइरहेकाले यसमा स्वास्थ्य मन्त्रालयले विशेष ध्यान दिनुपर्ने गुरुङले बताए । कागं्रेस सचेतक बालकृष्ण खाँणले क्वारेन्टाइन निर्माणमा ध्यान नदिएको धारणा राखे । पछिल्ला कदमले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा सरकारको ध्यान नपुगेको उनको भनाई छ ।
समिति सभापति कृष्णभक्त पोखरेलले पर्याप्त स्वास्थ्य सामाग्री ल्याउन सरकारको ध्यानाकष्र्याण गराए । त्यस्तै जनतालाई देखिएको बिभिन्न समस्याको समाधानमा ध्यान दिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया