पार्टीभित्र देखिएको विवाद समाधानको बिकल्प खोज्न नेकपाका तीन शीर्ष नेताबीच छलफल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवादको समाधान खोज्न तीन शीर्ष नेताहरु मंगलबार पनि जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल मंगलबार बिहानै बालुवाटारमा छलफलका लागि जुटेका हुन् ।
नेकपामा देखिएको पछिल्लो विवादको समाधानको बिकल्प खोज्न सोमबार अध्यक्ष दाहाललाई जिम्मेवारी दिइएको थियो । आगामी वैशाख २५ मा बस्न लागेको स्थायी कमिटी बैठकमार्फत अहिले देखिएका विवादको निरुपणका लागि नेताहरु जुटेका हुन् । वैशाख २० मा बसेको सचिवालय बैठकबाट नेकपामा उत्कर्षमा पुगेको विवाद तत्काललाई रोकिएको छ ।
तर प्रचण्ड र नेपाल समूह भने अझै पनि एक पद एक व्यक्तिको रणनीति बनाइरहेका छन् । त्यही रणनीति अनुसार ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्ने रणनीति अनुसार सोमबार पनि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा दाहाल, नेपाल, अर्का वरिष्ठ नेता खनालसहितको बैठक बसेको थियो ।