देशभरका विद्यालयहरुलाई कुनै पनि कक्षामा विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । सरकारले विद्यालयहरुलाई कुनै पनि कक्षा, तह र अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन आग्रह गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले सरकारले अर्को निर्णय नगरेसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन र अनलाइन पठनपाठनका नाममा शुल्क नलिन नपाइने निर्णय गरेको हो ।
माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले सोमबार जारी सूचनामा जनाएको छ ।
सहसचिव दीपक सुवेदीले जारी गरेको सूचनामा ती परीक्षा सञ्चालन गर्ने विषयमा सुक्ष्म अध्ययन र परामर्श लिने काम भइरहेको उल्लेख गरिएको छ ।