पार्टीभित्रको विवादका बारेमा ‘निर्णायक’ छलफल गर्न नेकपाको सचिवालय बैठक आज पुनः बस्दै
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज पुनः बस्दैछ । पार्टीभित्रको विवादका बारेमा निर्णायक छलफल गर्न अपराह्न ४ बजे सचिवालयको बैठक बोलाइएको हो । सरकारले दुईवटा अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरू केही दिनदेखि छुट्टाछुट्टै छलफलमा केन्द्रित छन् ।
गत बुधबार विवादका विषयमा छलफल भएपनि बैठक विना निष्कर्ष टुंगिएको थियो । बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न प्रचण्डले सुझाव दिएका थिए । तर प्रधानमन्त्रीले कोरोना संक्रमण भएपछि पद त्याग्ने तर प्रधानमन्त्री वामदेव गौतमलाई बनाउने प्रस्ताव अघि सारेका थिए ।
सांसद नै नभएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्तावलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष प्रचण्ड पक्षीय नेताहरुले र ओली पक्षले अहिले छुट्टाछुटै छलफल जारी राखेका छन् ।
यो बीचमा दुबै पक्षबाट हस्ताक्षर संकलनको काम भइरहेको चर्चा समेत चलेको छ । प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गर्न बालुवाटरबाट सांसदहरुलाई धम्कीपूर्ण टेलिफोन आएका खबर समेत सार्वजनिक भएका छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ ।