धरौटी बुझाएर छुटेलगत्तै अग्रवाल पुनः पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालतको आदेशमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेलगत्तै प्रहरीले व्यवसायी सुलभ अग्रवाललाई पुनः पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।
अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने उनले बताए । उनी गत चैत २५ गते कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए । तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा विक्रि गर्न लागेका बेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । अग्रवाल शंकर ग्रुपका अध्यक्ष एवं जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो । धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनी पुनः पक्राउ परेका हुन् ।