ओलीलाई हटाउने चर्चाले बास्कोटा तनावमा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन पार्टी उपाध्यक्ष बामदेव गौतमले सुझाव दिएको समाचार सार्वजनिक भएपछि ७० करोड घुस काण्डमा मुछिएका पूर्वमन्त्री गोकुल बास्कोटालाई तनाव भएको छ । उनले आइतबार ट्वीट गर्दै ओली नभएको नेकपाको कल्पना गर्न नसकिने बताएका हुन् ।

बास्कोटालाई संरक्षण गर्दै आएका ओली हटे आफू अख्तियारको फन्दामा पर्ने त्रासमा बास्कोटा तनावमा परेका बताइन्छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले मन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओली भने बास्कोटाको बचाउ गर्दै आएका छन् । उनले त्यो अडियो नक्कली भएको समेत बताएका छन् । बास्कोटाले लेखेका छन्,‘ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन् भने तिनीहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनीतिको हैन,राजनीतिले गणितको फैसला गर्छ । तिनाउको किनारमा रामापिथेकसको नलिहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाण्डौमा बस्ती नै बसाउन सक्ने थिएनन् ।’