‘हाम्रो प्रधानमन्त्री पनि यस्तै सहयोगी हुनुहुन्छ’
सुनिरहेको एउटा जोक छ:
अन्नपात र लुगाफाटा मुसाले धुलो पारेर हैरान भएको किसान पसलमा औषधि किन्न पुग्छ । हातमा औषधि लिएर उसले पसलेलाई सोध्छ, ‘यसले पक्कै मुसा मर्छ नि ?’ “किन नमर्नु ? पक्का मर्छ ।” पसले जबाफ फर्काउँछ ।
यसअघि उसैसँग किनेका औषधिले काम नगरेको र मुसाले झन बढ़ी क्षति गरेकाले ऊ अलि बढ़ी हतास र शङ्कालु देखिन्छ । फेरि सोध्छ, ‘अस्तिको जस्तै यसले पनि मुसा मरेन भने ?’ पसले ढुक्कसँग उत्तर दिन्छ, “मरेन भने मुसा समातेर मकहाँ ल्याउनु, मैं मारिदिन्छु !” बिचरा सोझो किसान मख्ख पर्छ र पसलेको उदारता र सहयोगी भावनाको गुणगान गाउँदै घर फर्किन्छ ।
हाम्रो प्रधानमन्त्री पनि यस्तै सहयोगी हुनुहुन्छ । भन्नुहुन्छ, ‘खान नपाएको कोही भेट्नुभो भने हामीकहाँ ल्याउनुस्, सरकारले खुवाउँछ ।’ ‘बेरोजगार कोही भेट्नुभो, घर नभएर सड़कमा बस्नु परेको कोही भेट्नुभो भने ल्याउनुस्, सरकारले तिनको उद्धार गर्छ ।’
पसलेको कुरो जोक भए पनि घरघरमा पाइपबाट ग्यास र कलकत्तासम्म पानीजहाजको टिकट यसै गरी काटिएकाले र पोलपोलमा तस्बीर टाँसेर नयाँ युगको घोषणा गरिसकिएकाले आशा गरौँ, तलको चाहिँ पक्कै जोक हुने छैन । भयो भने ? यसको जबाफ त उही पसलेले मात्रै दिन सक्छ ।