अब बाहिरी सीमा बन्द राखेर आन्तरिक लकडाउन खुकुलो बनाउँदै लैजानुपर्छ
नारायण गाउँले ।
सतर्कता र आतङ्क फ़रक कुरा हुन् । अहिले आमजनतालाई सजग र सतर्क बनाउनेभन्दा पनि मर्नै लागियो कि जस्तो आतङ्कित बनाउने काम सबै क्षेत्रबाट भएजस्तो लाग्यो ।
सिङ्गो देश १५ दिनभन्दा बढ़ी क्वारेन्टीनमा बसिसक्यो । अन्तिम केस भेटिएको पनि एक हप्ता हुन लाग्यो । सङ्क्रमितमध्ये कसैको पनि स्वास्थ्यस्थिति बिग्रिएको छैन । अझ स्पष्ट भन्दा कसैलाई उपचार गर्नै पर्ने अवस्था पनि आएको छैन । ती आइसोलेशन रूममा राखिएका छन् । बोर्डर बन्द छ ।
तर, गाउँमा मान्छे यति आतङ्कित र त्रस्त छन् कि एक-अर्काले फलाएको तरकारी र फलफूल खान पनि डराउँछन् । डेरीबाट दूध किन्न त परको कुरा, सित्तैमा लैजान पनि मान्छे तयार छैनन् । बारीमा तरकारी कुहिएर जाने अवस्था आएको छ । छिमेकमा एक दुई मिटर टाढ़ाबाट समेत मान्छे सुखदुःखका कुरा गर्न डराउने रहेछन् । कसैको घरमा मान्छे बिरामी या तलमाथि पर्दा एक्लै हुने अवस्था रहेछ । लठ्ठीको टुप्पोमा साबन उनेर राहत दिएको तस्बीरले मन अमिलो बनाउँछ ।
मानौं हरेक मान्छे कोरोनाभाइरसको भकारी नै हो जस्तो चित्र दिमागमा बन्दो रहेछ । अरूलाई त छोड्नुस्, स्वास्थ्यकर्मीहरू आफै पनि आतङ्कित रहेको देखियो । नत्र हस्पिटलका नियमित सेवा बन्द गर्नुपर्ने अवस्था नेपालमा अहिलेसम्म थिएन । काठमाडौंबाट मान्छेलाई बाहिर जान दिने निर्णयले ल्याएका प्रतिक्रिया हेर्ने हो भने यो त्रासलाई सजिलै बुझ्न सकिन्छ । धेरैलाई लाग्यो, कोरोना बोकेर मान्छे गाउँ पस्ने भए । दुबईबाट या लण्डनबाट मान्छे सोझै घर जान लागेका होइनन् । काठमाडौंमा श्रम गर्ने मान्छे १५ दिनभन्दा बढ़ी क्वारेन्टीनमा बसेर, कुनै लक्षण नदेखिएपछि फर्किन लागेका हुन् । ती कोरोनाका बिमारी होइनन् । तिनलाई स्थानीय सरकारले थप एकहप्ता घरमैं बस्ने सल्लाह दिन सक्छन् ।
ढोकाबाहिर निस्किनेबित्तिकै कोरोनाभाइरस लागिहाल्ने होइन । र लाग्नेबित्तिकै मरिहालिने पनि होइन । मान्छेले मान्छे भेट्दैमा, बोल्दैमा सर्ने पनि होइन । सङ्क्रमित व्यक्तिसँग संसर्गमा आउँदा सर्न सक्ने डर हुन्छ, यत्ति हो ।
सरकारले पनि सही सूचना दिने र जनजीवनलाई यथासम्भव सहज बनाउने प्रयत्न गर्ला नै । दुई हप्ताको लकडाउन उचित थियो । यो एकप्रकारको क्वारेन्टीन नै थियो ।
थप प्रमाण या अवस्था बिग्रिएको सङ्केत नभेटिँदासम्म अब बाहिरी बोर्डरलाई बन्द राखेर आन्तरिक लकडाउन खुकुलो बनाउँदै लैजानेतिर पक्कै सरकारले विचार गर्ला । अब हरेक ठाउँमा परीक्षण सुविधा पुगिसकेकाले एकदुई वटा केस पोजिटिभ भेटिए पनि तिनलाई आइसोलेशन गर्न र नियन्त्रण गर्न असम्भव छैन ।
लामो दूरीका सवारी साधन, सिनेमाघर, पार्टी या भेलाहरू अहिल्यै खोल्नु आवश्यक छैन । तर स्थानीय व्यवसाय, उद्योग र कृषि क्षेत्रलाई क्रमशः खुला गर्दै जान र सोसल डिस्ट्यान्सिङ्का अन्य उपायहरूबारे सचेतना फैलाउनचाहिँ खास समस्या नहुनुपर्ने हो । किनकि विश्वभर यो समस्याको पर्दा कहिले खस्छ भन्ने कुनै ग्यारेन्टी छैन ।
तपाईंलाई के लाग्छ ?