आफ्नै निर्णयमा यसरी चिप्लियो सरकार
काठमाडौं । बिहीबार दिउँसो सरकारले काठमाडौं उपत्यकाबाट गाउँ फर्किन चाहनेलाई शुक्रबार र शनिबार जान दिने भन्दै समाचार सार्वजनिक भयो । ईश्वर पोखरेल संयोजक रहेको कोभिड १९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यस्तो निर्णय गरेको भन्दै समाचार सार्वजनिक भयो ।
समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेज र स्वास्थ्य मन्त्रालयको अधिकारिक फेसबुक पेजमा यो सूचना राखियो । त्यसपछि सबै संचारमाध्यमले समाचार प्रकाशन तथा प्रसारण गरे । तर त्यसको एक डेढ घण्टापछि फेरि सरकारबाट यस्तो निर्णय भएको छैन भन्दै समिति संयोजक पोखरेलले विज्ञप्ती जारी गरे ।
‘ भोली र पर्सी ( २८-२९ चैत्र , २०७६ ) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको ‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा ‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ ( लक डाउन ) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ !? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।
– ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति



सरकारको गल्ती भएको थाहाँ हुँदाहुँदै पनि ७० करोड घुसकाण्डको आरोप लागेका पूर्वमन्त्री गोकुल बास्कोटा राति भइसक्दा पनि यसरी ट्वीटमा खेद्दै थिए । हेर्नुस् त बास्कोटाको ट्वीट, ‘वाह ! कलियुगका परमसत्य मेडिया,मेडिया,मेडिया र तीनका भरपर्दाे श्रोतले बताए अनुसारका अकाट्य समाचारहरुको सही सूचनाको उर्लदो भेल । माँने बा ! तरक्की पनि कति जानेका मैले त पहिल्यै देखि चित खाए थे ।’
तर सरकारको यस्तो निर्णयपछि त्यसको सर्वत्र विरोध भएको छ । मिडिया रिसर्चका अध्येता भानुभक्त आचार्यले सरकारी निर्णयप्रति व्यंग्य गरेका छन् । उनले भनेका छन्, निर्णय भएको कुरा आधिकारिक पेजमा हाल्ने, हतारहतार निर्णय फिर्ता लिने, अनि मिडयालाई दोष लगाउने ? अझ केही सरकारी हल्लाकारहरुले मिडिया खतम भन्दै लेखेको फेसबुक स्टाटस देखेर पो लाज लाग्यो । हुन त प्रधानमन्त्रीभन्दा उपप्रधानमन्त्री जान्ने । उपप्रमभन्दा मन्त्री जान्ने । ती भन्दा बढी तिनका आसेपासे जान्ने । लास्टमा उत्तानो परेर लकडाउन । ढाँटेको कुरा काटे मिल्दैन ।’