नेपाली समाजको नैतिक क्षयीकरण र तीब्र भ्रष्टीकरणका ‘कारण र उपचार’ खोज्ने समय होः रवीन्द्र मिश्र



साझा पार्टीका सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई मेरो पत्र:

आदरणीय सदस्य तथा शुभेच्छुक,

कोरोना संक्रमणले विश्व आक्रान्त भइरहँदा र हामी नेपालीहरू बन्दाबन्दी (लकडाउन) को अवस्थामा बसिरहनु पर्दा स्नेह र विश्वास आदानप्रदान गर्न यो नितान्त व्यक्तिगत पत्र लेख्दैछु।

तपाईं, तपाईंको परिवार, देशभित्र र बाहिर रहेका नेपालीहरू सबैको सुस्वास्थ्यको कामना गर्दछु। नेपाल र सम्पूर्ण विश्वले यो महाव्याधीबाट सक्दो छिटो पार पाओस्!

हरेक बादलमा चाँदीको घेरा हुन्छ भने झैँ कोरोना संक्रमण र बन्दाबन्दीको अवधि मान्छेको लागि एकछिन रोकिएर आत्मावलोकन गर्ने समय पनि हो। नेपाली समाजको नैतिक क्षयीकरण र तिब्र भ्रष्टीकरणका ‘कारण र उपचार’ खोज्ने समय पनि हो। मान्छेको विवेकमाथि मान्छेले नै प्रश्न गर्ने घडी पनि हो।

आखिर एउटा सूक्ष्मातिसूक्ष्म भाइरसले ज्वाज्वल्यमान ज्ञान, विज्ञान र संवृद्धि सबैमा छिद्र पार्न सक्दो रहेछ। त्यसैले लागिरहेछ, बाँचुञ्जेलको समय सन्सारमा बढ्दै गएको ‘व्यक्तिकेन्द्रीत’ प्रवृत्तिमा ‘वसुधैव कुटुम्बकम्’को भावना कसरी सिञ्चित गर्न सकिन्छ भनेर चिन्तन गर्ने समय पनि हो। कल्याणकारी राज्य र कल्याणकारी सन्सार नहुँदा मान्छे लगायत सिँगो प्रकृतिले भोगिरहेको पीडा अनुभूत गर्ने अवधि पनि हो यो।

यो समय सिर्फ ‘मसान वैराग्य’को समय नबनोस् भन्ने कामना गर्दछु। हालै साझा पार्टीका केन्द्रीय सदस्य तथा प्रकाशन गृह नेपालयका प्रमुख कार्यकारी किरणकृष्ण श्रेष्ठले लेखे झैँ “आर्यघाटमा पलाएर गौशाला चोकमा बिलाउने हाम्रो मसान वैराग्य अब हाम्रो चेतबाट त्यति चाँडो पक्कै बिलाउने छैन।” नबिलाओस् पनि।

त्यो पुन: जागृत चेतले हामी सबैलाई हामीले तय गरेको अत्यन्तै कठिन, चुनौतिपूर्ण तर अझ बढी अत्यावश्यक देखिएको यात्रामा दृढताका साथ, सबै प्रतिकूलता चिर्दै अघि बढ्ने शक्ति प्रदान गरोस्।

यो महामारी र बन्दाबन्दीको अवस्थामा जन निर्वाचित प्रतिनिधिहरूले गर्न सक्ने र गर्नु पर्ने कामहरू धेरै छन्। तर हामीहरूले भने सरकारले दिएको निर्देशन र स्वास्थ्य प्रोटोकलको सीमाभित्र रहेर गर्न सक्ने कामहरू अत्यन्तै सीमित थिए र छन्। जुनसुकै विचार, पार्टी या अभियानसँग आवद्ध भए पनि हामी सबै एक हुने समय हो यो। यो अवस्थामा हामी सबैले सरकारलाई कोरोना विरूद्धको लडाईंमा हरसंभव साथ दिनु पर्छ र सरकारलाई हरसंभव सचेत पनि गराउनु पर्छ।

बन्दाबन्दी शुरू भए देखि नै त्यो काम हामीले गरिरहेका छौँ। बन्दाबन्दी शुरू हुनु ठिक अघि देशका कतिपय ठाउँमा हाम्रा साथीहरूले मास्क वितरणदेखि सचेतना अभियानहरू सञ्चालन गरे, रक्तदान कार्यक्रम आयोजना गरे। रगत अभाव झन बढ्दै गएपछि हामीले पुन: रक्तदानका लागि अपील गरेका छौँ। यसबीच हामीले कोरोना संक्रमणसँग सम्वन्धित फेसबुक लाइभ छलफलहरूको प्रसारण पनि गर्यौँ।

बन्दाबन्दी शुरू हुने वित्तिकै मैले नागरिक समाजका केही प्रतिष्ठित व्यक्तित्वहरूसँग मिलेर श्रमिकहरू तथा सिमानामा रोकिएका र विदेशबाट फर्किन चाहने नेपालीहरूका विषयमा आवाज उठाएँ, जसको परिणाम सकारात्मक रह्यो। त्यसैगरी, पार्टीको तर्फबाट प्रधानमन्त्रीका नाममा लेखिएको सुझावपत्र म र प्रवक्ता डा सूर्यराज आचार्य भएर उपप्रधानमन्त्रीलाई हष्तान्तरण गर्यौँ। त्यसमा हामीले अहिलेको तरिकाबाट सरकारले देशलाई यो संकटबाट पार लगाउन नसक्ने हुनाले प्रमुख दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्र तथा विज्ञहरूको उच्चस्तरीय समिति गठन गर्न सुझाएका थियौँ, जसबारे बहस जारी छ। त्यसैगरी पार्टीले अन्य महत्वपूर्ण विषयमा विज्ञप्ती जारी गरी उठाउनु पर्ने ठाउँमा आवाजहरू उठाइरहेको छ।

कोरोना संक्रमण समाप्त भएपछि सन्सारको चेतनाको प्रकृति फरक हुने आंकलन गरिँदै छ। त्यो आंकलन सारा मानवजातिका र हाम्रो मातृभूमीका लागि शुभ रहोस्।

अवस्था सामान्य हुने वित्तिकै हामी सबै जुर्मुराएर उठ्न र हाम्रो यात्रामा पहिलेभन्दा चेतनशील, सकारात्मक, प्रतिवद्ध र परिणाममुखी भएर हिँड्न सकौँ। किनभने, देश त बनाउन बाँकी नै छ।

हामी सबैको जय होस्, नेपालको जय होस्!

स-सस्नेह
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मिति: २२ चैत २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

  त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम

ज्ञानेन्द्र शाहीको प्रश्नः आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मुलुकमा अब दुईथरी कानुनको

समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गर्ने सहमतिपछि हट्यो सदनको अवरोध

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको