लकडाउन उल्लंघन गर्ने एक हजार भन्दा बढी प्रहरी नियन्त्रणमा
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको नवौं दिन काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् ।
प्रहरीले लकडाउन उल्लंघन गर्ने एक हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी लकडाउनको उल्लंघन गर्ने दुईसय भन्दा बढी सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ । कारवाही स्वरुप सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएर भेटिएकै ठाउँमा चार घण्टा उभ्याउने नीति प्रहरीले लिएको छ ।
विश्वव्यापीरूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी अत्यावश्यक बाहेक बाहिर ननिस्कन आदेश जारी गरेको थियो ।