कोरोना संक्रमणमा ‘कमन ट्वाइलेट’ कति सुरक्षित ?
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ
सहरको बसाइमा धेरैजसो एउटा वा दुइवटा कोठा लिएर बस्नुपर्ने बाध्यता धेरैलाई छ | कोठा भाडामा लगाउन बनेका घरहरुमा एउटा तल्लामा एउटा मात्र ट्वाइलेट हुन्छ | त्यो ट्वाइलेट ५-६ परिवारले सेयर गर्नुपर्ने हुन्छ | अरु कोठामा बस्ने व्यक्तिहरु कहाँ जान्छन ? को को लाई भेट्छन ? को को पाहुना आउछन् ? एकअर्को कोठामा बस्ने व्यक्तिलाई थाहा नहुन सक्छ |
पुराना घर तथा भाडा लगाउन बनाएका घरमा ट्वाइलेट भर्यांगमुनी वा अध्यारो ठाउँमा राख्ने प्रचलन छ | त्यो चिसो, ओसिलो तथा बाल्टिन र मगजस्ता प्लास्टिकका भाँडा, फोहोर फलामका धारा, फलामको चुकुल आदि कोरोना भाइरस धेरै दिन रहनको लागि अनुकुल हुन्छन् | यस्तो ठाउँमा कोहि संक्रमित व्यक्तिले ट्वाइलेट प्रयोग गर्यो भने त्यो तलामा रहेका सबैलाई सर्ने सम्भावना हुन्छ |
यो जोखिमबाट बच्नको लागि हरेक तलामा बस्ने व्यक्तिहरु जिम्मेवार हुनुपर्छ | दिनमा न्युनतम ३ पटक ट्वाइलेट रुमका ढोका, कब्जा, साँचो, चुकुल, धारो, बाल्टिन, माग आदिलाई स्प्रिट वा ६० % भन्दा बढी अल्कोहल भएको झोलले राम्रोसंग सफा गर्नुपर्छ | ट्वाइलेटभित्रको भुइँलाई साबुनपानी वा फिनेलले घोटिघोटी सफा गर्ने, सुख्खा राख्ने तथा झ्याल / भेन्टिलेटर खोलेर हावा खेल्ने बाताबरण बनाउनुपर्छ | आफुले ट्वाइलेट प्रयोग गरेपछि प्रशस्त पानी हाल्ने त्यसपछि सफा गरेर फिनेल राख्नुपर्छ |
यो काम सुरमा झन्झटिलो लागेपनि सबैले पालोपालो गर्ने हो भने सजिलो हुन्छ | ट्वाइलेटलाई वासरुम तथा रेस्ट रुम बनाउन हरेक व्यक्तिले सरसफाइमा ख्याल गर्नुपर्छ | अन्यथा यो सानो कुराले ठूलो समस्या निम्त्याउने डर रहन्छ |