पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ ।
पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी भएको कार्यालयले जनाएको छ ।
सोमबारको घटनालाई लिएर आज पनि परिस्थिति असहज बन्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए। “परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यु आदेश जारी गरेका छौँ”, उनले भने ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।