वुहानबाट उड्यो १७५ नेपाली बोकेर नेपाल एयरलाइन्सको जहाज
काठमाडौं । चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ नेपाली बोकेर नेपाल एयरलायन्सको जहाज उडेको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपाली मध्ये १० जना चीनमै रोकिएका छन् ।
१० जनामध्ये ६ जनामा उच्च ज्वरो देखिएपछि उनीहरु चीनमै रोकिएका हुन् । कोरोनाभाइरसको उद्गमस्थल वुहानमा उद्दारको पर्खाइमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको जहाज शनिबार अपरान्ह ४ बजे वुहान प्रस्थान गरेको हो।
जहाज आइतबार बिहान सवा दुई बजे अवतरण गर्ने भनेपनि केही ढिलाइ हुने भएको छ। वुहानबाट ल्याइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ।
जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ। जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक र एकएक जना इन्जिनियर र लोडमास्टर छन्।
फोटोः पत्रकार चन्दशेखर अधिकारीको फेसबुकबाट