सभामुखको उम्मेदवार चयन गर्न नेकपाले बोलायो सचिवालय बैठक
काठमाडौँ । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार चयन गर्न सचिवालय बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भएको बैठकमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।
नेकपाका अध्यक्षद्वयको बैठकले सभामुखबारे छलफल गर्नका लागि आज अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिएका छन् ।
सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि असोजदेखि सभामुख पद रिक्त छ । सभामुखको प्रस्ताव अध्यक्ष ओलीले गर्ने कि प्रचण्डले भन्नेमा नेकपामा विवाद छ ।
जसका कारण पुस ४ गते बोलाइएको हिउँदे अधिवेशन पहिलो बैठकपछि पटक पटक सूचना टाँसेर स्थगित भएको छ । सभामुखमा सुवास नेम्वाङ, अग्नी सापकोटा, देव गुरुङ, उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा छ ।
प्रतिनिधिसभा बैठक भोलिका लागि बोलाइएको छ । भोलिको बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।