दिलिप महतोको परिवारलाई पाँच लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय
जनकपुरधाम । प्रदेश दुई सरकारले नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानकर्ताका रुपमा चिनिएका मिथिला नगरपालिका–५ श्रीपुरका दिलीप महतोको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
नदीजन्य पदार्थ उत्खननविरुद्धको अभियानमा क्रियाशील हुँदा शुक्रबार दिलीपको हत्या भएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सोमबार बिहानको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख दिने निर्णय गरेको जानकारी दिए । प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले महतोको हत्यामा सङ्लग्न अभियुक्तमाथि कडा कारवाही गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए ।